इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरी जिल्लाले बक्सिङ्ग र बास्केटबलमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीको छनौट सम्पन्न गरेको छ ।
भदौ ५ गतेबाट सुरु भएको जिल्ला छनौटको क्रममा पुरुष फुटबलको पहिलो चरण सकिएको र अर्को चरणको छनौट भदौ ९ गते हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले बताए ।
मंंगलबार महिला फुटबलको छनौट धरानमा भइरहेको छ भने क्रिकेटको छनौट खेल भदौ ८ गते आयोजना हुने बताइएको छ । नवौँ राष्ट्रिय खेलका लागि सुनसरीले २५ वटा खेल विधामा प्रतिस्पर्धा गर्न खेलाडीले नाम दर्ता गराएका छन् । कतिपय खेलमा छनौट गर्न नपर्ने कोटा अनुसारको खेलाडीको मात्र नाम दर्ता गरेका कारण सिधै उनीहरुले प्रदेश छनौटमा भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राईले बताए ।
प्रदेशको टिम बनाउनका लागि जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशको वृहत प्रतियोगितामा सहभागिता जनाएर छनौट हुनुपर्छ र मात्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको पोखरामा जान पाइन्छ ।