विराटनगरः प्रदेश १ मा २ वटा फुटबल प्रतियोगिता गराउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घमार्फत् प्रदेश १ सरकारको सहयोगमा प्रदेशस्तरीय मुख्यमन्त्री कप र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र अखिल नेपाल फुटबल सङ्घबीच शुक्रबार भएको सम्झौताअनुसार आगामी ५ वर्षसम्म प्रदेश १ भित्र २ वटा फुटबल प्रतियोगिता एन्फाले गराउने छ ।

प्रत्येक फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ नगद सहयोग गर्ने भएको हो । यसै वर्षदेखि फुटबल टुर्नामेन्ट गराउने गरि सरकारले दुई वटा प्रतियोगिताका लागि एक÷एक करोड रुपिँया बिनियोजन गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सरकारको नगद सहयोगमा एन्फाले गराउने प्रतियोगिताको सम्झौतामा सामाजिक विकास मन्त्रालयका सहसचिव उपेन्द्र दाहाल र एन्फाका प्रवक्ता एवं सदस्य किरण राईले हस्ताक्षर गरेका छन् । कार्यक्रम सम्झौता हुँदा मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीमण्डलका सदस्य र मन्त्रीहरूको उपस्थिति थियो ।

के छ सम्झौतामा
सम्झौताअनुसार मुख्यमन्त्री प्रदेश १ स्तरीय फुटबल अन्तर्गत प्रदेशभित्रका १४ वटा जिल्लाका फुटबल टिमलाई सहभागी गराइने छ । यो प्रतियोगितामा उत्कृष्ट दुई टिमलाई अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागी हुने अवसर प्रदान गरिने छ । उत्कृष्ट टिमले उचित पुरस्कार समेत पाउनेछन् ।

यसैगरी, प्रदेश १ मै अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालन गरिने छ । त्यसमा ७ वटा प्रदेशका ७ टिम, ए डिभिजनका उत्कृष्ट ६ वटा टिम र विदेशी ३ वटा टिमलाई सहभागी गराइने उल्लेख छ ।

सम्झौतापछि मुख्यमन्त्री राईले युवावर्गलाई खेलकुदमा सहभागी गराउँदै खेलबाट प्रदेश १ लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको बताए ।