काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौँको एक होटलको कोठा नम्बर ३०५ मा पटकपटक बलात्कार गरेको जाहेरी एक नाबालिगले दिएपछि अहिले माहोल तातेको छ । सिनेमा क्षेत्रका नायक पल शाहको जबरजस्ती करणी मुद्दाको फैसला भएलगत्तै सन्दीप लामिछानेविरुद्ध जाहेरी परेपछि गिरोह नै रहेको समेत हल्लाबाजी आउन थालेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडितले दिएको जाहेरीअनुसार लामिछानेले गत भदौ ५ गते राति काठमाडौँको एक होटलमा बलात्कार गरेका थिए । बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । पीडित भनिएकी १७ वर्षीया नाबालिग किशोरीकी दिदीले प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाडाँै र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर फेरि काठमाडौँमा ल्याई एक होटेलमा राखेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ–९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक–पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । ‘रातको अन्दाजी २३ः५५ बजे र रातको अन्दाजी ००ः२५ बजे पटकपटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ’ जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
जाहेरीपछि प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइसकेको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।
बलात्कारको शंकास्पद अभियुक्त भनिएका सन्दीप भने देशबाहिर रहेका छन् । आजै नेपाल क्रिकेट एसोसियसन क्यानले आपतकालीन बैठक बस्दै सन्दीपको विषयमा छलफल गरेको थियो । तथापि केही निर्णय भने बाहिर ल्याएको छैन ।