काठमाडौँः १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछानेउपर काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । मंगलबार उजुरी दर्ता भई बुधबारबाट अनुसन्धान सुरु भएकोमा आज पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको पुष्टि गरे ।

यता, शंकास्पद आरोपी लामिछानेले भने आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् । सन्दीपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको क्यानका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

यसैबीच, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।