धरानः धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा अयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ आजदेखि सुरु भएको छ ।
आज भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्बू र नानी भुजेल विजयी भएका छन् । उद्घान खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्बू र नानी भुजेलले युनिस राईलाई पराजित गर्दै उपाधिका लागि अघि बढेका छन् । प्रतियोगिताका विजेता टोलीले नगद तीस हजार, ट्र्रफी, प्रमाणपत्र र उपविजेताले नगद २० हजार, ट्र्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी, व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सेन्चुरी ब्रेकले नगद १५ हजार र हाइएस्ट ब्रेकले नगद १० हजार रुपैयाँ, ट्र्रफी र मेडल प्राप्त गर्नेछन् ।
कार्यक्रमका प्रमुख अतिथि धरान ५ न. वडाका पूर्ववडासदस्य कुमार देवानले रिबन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिँदै प्रतियोगिताको उद्घाटनसमेत गरेका थिए । प्रतियोगितामा धरानभरिका ५२ जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुई हप्तासम्म चल्नेछ । स्नुकर खेल विकास र स्नुकर खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको खाजा घरका सञ्चालक एवं प्रतियोगिताका संयोजक चन्द्र लिम्बूले बताए । भाद्र १ गतेदेखि युनिक पुल हाउस एण्ड खाजा घर सञ्चालनमा आए पनि प्रतियोगिताको आयोजना गरी आजदेखि औपचारिक रुपमा सुरु भएको लिम्बूले जानकारी गराए ।