खजुराः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नं.को बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ । 

मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । -रासस