इटहरीः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को प्रदेश छनौट प्रतियोगिताको भव्य उद्घाटन बुधबार सुनसरीको इटहरी रंगशालामा हुने भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घान गर्ने प्रदेश छनौट प्रतियोगिता उद्घाटनको सम्पूर्ण तयारी सम्पन्न भएको उद्घाटन समारोहका संयोजक एंव प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलशकुमार बिष्टले जानकारी दिएका छन् । भदौ २९ गते बुधबार दिउँसो ३ः०० बजे इटहरी रंगशालामा उद्घाटन हुने छनौट प्रतियोगितामा २ सयभन्दा बढी अतिथिहरुलाई आमन्त्रण गरिसकिएको बोर्डले जानकारी दिएको छ । उद्घाटन सत्रमा सांस्कृतिक खेलकुद ¥याली, विभिन्न जातजातिका भेषभुषा झल्कने प्रदर्शनी र १४ वटै जिल्लाका खेलकुद विकास समितिको झण्डा सहितको प्रदर्शनीको साथमा विभिन्न झाँकीसहित इटहरी नगरको परिक्रमा गर्ने र इटहरी रंगशालामा ल्याएर उद्घाटन कार्यक्रम गरिने प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
३६ वटा खेलमा आफ्नो प्रतिनिधित्व गर्ने प्रदेश १ ले १४ वटै जिल्लाबाट छनौट भएर आएका खेलाडीहरुलाई प्रदेशको टिम निर्माणका लागि झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न ठाउँमा प्रदेशस्तरीय छनौट प्रतियोगिताको आयोजना गर्न लागेको बोर्ड सदस्य रोशनी राई बताउँछिन् । राईका अनुसार उद्घाटनको दिन मात्र सुनसरीको इटहरीमा विभिन्न ७ वटा खेलकुद प्रतियोगिताहरु आयोजना हुने भएका छन् । त्यसैगरी, झापाको बिर्तामोड, सुनसरीको धरान र मोरङ्गको विराटनगरमा समेत खेलकुद प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।
भदौ २९ गतेबाट सुरु हुने प्रदेश छनौट प्रतियोगिता क्रमिक रुपमा असोज ८ गतेसम्म सञ्चालन हुने र असोज ८ गते विराटनगरमा समापन कार्यक्रममो आयोजना गरिने खेलकुद विकास बोर्डले जानकारी दिएको छ । उद्घाटन खेललाई रोमाञ्चक बनाउँदै प्रदेश १ लाई नै खेलमय बनाउन सबै खेलसम्बद्ध तथा खेलप्रेमीहरुलाई उपस्थितिको लागि बोर्डले अनुरोधसमेत गरेको छ । प्रदेश छनौट प्रतियोगितामा सहभागी भएर उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीले नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने यही छनौटबाट प्रदेशको टिमसमेत तयार हुनेछ ।