इटहरीः नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा सहभागिता जनाउन प्रदेश नम्बर १ ले आफ्नो छनौट प्रतियोगिताको मंगलबार भव्य उद्घाटन गरेको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित मन्त्रीहरु, तथा खेलसम्बद्ध पदाधिकारीहरुको उपस्थितिमा भव्य समारोहका बीच साँस्कृतिक झाँकी, खेल डेमोस्ट्र«ेसन तथा विभिन्न खेल प्रतियोगितासहित प्रदेशस्तरीय वृहत छनौट प्रतियोगिताको उद्घाटन भएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले प्रदेशका १४ वटै जिल्लाबाट आएका खेलाडीहरु सम्मिलित खेलकुद ¥याली तथा शान्ति पदयात्रा सहितको टोलीलाई सम्मान गर्दै सलाम गर्न भ्याए भने कार्यक्रममा बजाइएको खेलकुद गीतमा नृत्य गर्दै प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले खेलाडीको मुहारमा खुसी छरेका थिए ।
विभिन्न जातजातिका भेषभुषाले सजिएको झाँकी,महिला पञ्चेबाजा समुहको पञ्चेबाजा तथा सशस्त्र प्रहरी बलको व्याण्डसहित भएको भव्य शान्ति ¥यालीलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले सम्मान गरेका थिए । कार्यक्रममा आईटीएफ तेक्वान्दोको सेल्फ डिफेन्स, योग खेलको डेमोस्टे«्रसन तथा खेलकुद नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव वाग्लेले साढे पन्ध्र हजार खेलाडीबाट छनौट भएर आएका ५ हजारभन्दा बढी खेलाडीहरु प्रदेश छनौट प्रतियोगितामा सहभागी भएको बताए । ५ हजार ६ सय खेलाडीबाट छनौट भएर ७ सय ८ जना खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै सहभागी हुने उनले बताए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै प्रदेशका मुख्यमन्त्री राईले प्रदेश संरचना भएपनि अधिकार केन्द्रसँग रहँदा हालसम्म पनि खेलका संरचनाहरु प्रदेश सरकार मातहत नआइसकेको बेला प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनु निकै चुनौतीपूर्ण रहेको बताए । पहिलो पटक प्रदेश संरचनामा गएर नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन लाग्दा बजेट लगायतका समस्या भएपनि मन्त्रिपरिषद्ले निर्णय गरेर प्रदेश खेलकुद विकास बोर्डले माग गरेजति नै बजेट उपलव्ध गराएको मुख्यमन्त्री राईले बताए । उनले भोलि बजेट अपुग भएको खण्डमा समेत आफूहरुले खेलाडीहरुको लागि थप बजेटको पहल गर्ने बताउँदै मुख्यमन्त्री राईले प्रदेशको लागि मेडल लिएर आएको खण्डमा आकर्षक पुरस्कार प्रदान गर्ने घोषणासमेत गरेका थिए ।
कार्यक्रममा प्रदेशका यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे, सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यहरु शैलेशकुमार बिष्ट, प्रदीपकुमार भगत, रितेश श्रेष्ठ, रोशनी राई, जीवन राई, सन्दीप राई, प्रदेश प्रहरी प्रमुख, खेलकुद विकास समितिका पदाधिकारीहरु तथा खेलसम्बद्ध व्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो । मंगलबारै प्रदेश १ को इटहरी र धरानमा गरेर ७ वटा छनौट खेलहरु भएका छन् । इटहरीमा पुरुष भलिबल, महिला फुटबल, आईटीएफ तेक्वान्दो, टेबलटेनिस, पौडी र धरानमा बुद्धिचाल खेल सञ्चालन भएको छ । प्रदेश १ को छनौट प्रतियोगिता असोज ८ गते सम्पन्न हुने प्रदेश खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।