इटहरीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश १ स्तरीय छनौटको महिला फुटबलतर्फ बुधबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्लाले जित हासिल गरेका छन् ।
सुनसरीको इटहरी रंगशालामा भएको प्रदेश छनौट फुटबल प्रतियोगिताको बुधबारको पहिलो खेलमा इलामलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सुनसरीले जित निकालेको छ । खेल सुरु भएको ४ मिनेटमै सुनसरीको लागि जर्सी नम्बर ९ की खेलाडी तिर्सना मगरले एक गोल गर्न सफल भएकी थिइन् भने सुनसरीको लागि दोस्रो गोल दोस्रो हाफको २३ औँ मिनेटमा जर्सी नम्बर १३ की आसिका बोहराले गरिन् । इलामको तर्फबाट दोस्रो हाफको ४ मिनेटमा जर्सी नम्बर ८ की खेलाडी जेनिफर रानाले गरेकी थिइन् ।
यसैगरी, बुधबारको दोस्रो खेलमा मोरङ्ग जिल्लाको महिला फुटबल टिमले भोजपुरविरुद्ध ३ गोल गरेको थियो भने भोजपुरले १ गोल फर्काउन सफल भएको थियो । यता, अर्को खेलमा धनकुटाले पाँचथरलाई ५ का विरुद्ध ६ गोल हान्यो । खेलको निर्धारित समयसम्म एक एक गोलको बराबरीमा रहेका धनकुटा र पाँचथरको खेल ट्राइबे्रकरमा पुगेको थियो । आठ आठ गोलको ट्राइब्रेकरमा धनकुटाले ६ गोल गर्यो भने पाँचथरले ५ गोल मात्र गर्न सफल भएको थियो ।
यता झापा र सोलुखुम्बुबीच भएको बुधबारको अन्तिम खेलमा झापाले सोलुलाई ० को विरुद्ध ४ गोलले पराजित गरेको थियो । बिहीबारको खेल धनकुटा भर्सेज उदयपुर, झापा भर्सेज खोटाङ्ग, संखुवासभा भर्सेज मोरङ्ग र ताप्लेजुङ्ग भर्सेज सुनसरीका बीच हुने फुटबल तर्फका संयोजक दिलिप राईले जानकारी दिए ।