विराटनगरः प्रदेश १ को प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता बुधबार विराटनगरमा सुरु भएको छ ।
नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रदेशस्तरीय छनौट खेलमा विराटनगरमा महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा सुरु भएको हो । बिहीबारसम्म चल्ने प्रदेशस्तरीय भारोत्तोलन खेलमा ४५ केजी तौल समुहतर्फ महिलामा खोटाङ्गकी जोली थापा प्रथम भएकी छन् भने इलामकी जमुना क्षेत्रीले दोस्रो स्थान हासिल गरेकी छन् । जोलीले ६२ केजीको तौल उठाइन् भने क्षेत्रीले ४० केजीको तौल उठाएकी थिइन् ।
यस्तै ४९ केजी तौल समुहमा झापाकी राधा भुजेल प्रथम भइन् । भुजेलले ६० केजीको तौल उठाएकी थिइन् । यता ५५ केजी तौल समुहबाट झापाकी करिना चौधरीले १ सय १२ केजी तौल उठाएर प्रथम स्थान हासिल गरेकी छन् भने इलामकी सलिना तामाङ्ग द्वित्तीय भएकी थिइन् । यसैगरी, पुरुष तर्फको भारोत्तोलनमा ५५ केजी तौल समुहमा उदयपुरका रामकुमार यादव प्रथम भए भने मोरङ्गका अरुण राजवंशीले द्वित्तीय स्थान हासिल गरेका छन् । यता ६१ केजी तौल समुहमा अजित राजवंशी प्रथम बनेका छन् ।
राजवंशी मोरङ्गका खेलाडी हुन् । ६७ केजी तौल समुहतर्फ उदयपुरका रिवेश अधिकारी प्रथम बनेका छन् भने ७३ केजी तौल समुहमा पियुष राजवंशी प्रथम, इलामका पुष्कर राई द्वित्तीय र इलामकै निश्चल खवाष तृतीय बनेका छन् । यता ८१ केजी तौल समुहमा मोरङ्गका कपलेश्वर राजवंशी प्रथम बनेका छन् भने झापाका प्रसिद्ध लवटराज द्वित्तीय भएका छन् । भरोत्तोलन खेलको प्रदेश एक फाइनल भोली बिहीबार हुने छनौट समितिले जानकारी दिएको छ ।