इटहरीः सुनसरीको इटहरी रंगशालामा शुक्रबार भएको ९ औँ राष्ट्र्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्रदेश नम्बर १ को महिला फुटबल छनौटको खेलमा धनकुटा, झापा, मोरङ र सुनसरी विजयी भएको छ ।
शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा धनकुटाले उदयपुरलाई शुन्यका विरुद्ध तीन गोल गर्दै सेमिफाइनल प्रवेश गरेको छ । निकै नै रोमान्चक खेलमा धनकुटा उदयपुरमाथि हावी भएको थियो ।धनकुटाको जितमा ९ औँ र ३४ औँ मिनेटमा जर्सी नम्बर १४ की खेलाडी अनिता गुरुङले गोल गरिन् भने थप एक गोल ५५ औँ मिनेटमा जर्सी नम्बर १२ की खेलाडी सन्ध्या रम्तेलले गर्दै धनकुटालाई ३–०को जित दिलाउँदै सेमिफाइनलमा पुर्याइन् । अब धनकुटाले भोलि हुने पहिलो सेमिफाइनल खेल सुनसरीसँग खेल्नेछन् ।यस्तै दोस्रो क्वार्टरफाइनल खेलमा झापाले खोटाङलाई ३–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा २१ औं मिनेटमा पाएको पेनाल्टीमा जर्सी नम्बर ८ की खेलाडी सञ्जना राईले गोल गरिन् । साथै उनले खेलको ५१ औं मिनेटमा अर्को पनि गोल थपिन् । यस्तै, थप एक गोल खेलको ३६ औं मिनेटमा जर्सी नम्बर ७ की खेलाडी लक्ष्मी श्रेष्ठले गर्दै झापालाई ३–० को जित दिलाएकी हुन् । अब झापाले भोलि हुने दोस्रो सेमिफाइनल खेलमा मोरङसँग खेल्नेछ । आजै भएको तेस्रो क्वार्टरफाइनल खेलमा मोरङले संखुवासभालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
मोरङको लागि खेलको ६ र ३१ औँ मिनेटमा जर्सी नम्बर ५ की खेलाडी पूर्णिामा राईले गोल गरिन् भने थप अर्को गोल ६० औं मिनेटमा जर्सी नम्बर १ की खेलाडी रिना बस्नेतले गर्दै झापासँगको भेट पक्का गरेकी हुन् । अन्तिम क्वार्टरफाइनल खेलमा सुनसरीले ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गरेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयसम्म कुनै पनि टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा सुनसरीका लागि कृष्टि फर्जी, शर्मिला तामाङ र अनुजा प्रधानले गोल गरिन् भने ताप्लेजुङका लागि प्रतीक्षा राईले मात्र गोल गरिन् । सुनसरीले अब भोलि पहिलो सेमिफाइनल खेलमा धनकुटासँग खेल्नेछ ।