इटहरीः भदौ २९ गतेबाट सुनसरीको इटहरीस्थित टीटी कभर्डहलमा भएको प्रदेश १ स्तरीय टेबलटेनिस प्रतियोगितामा सुनसरीले आफ्नो बर्चश्व देखाएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष सिंगलतर्फ मोरङ्गका बोधित डीसीले स्वर्ण पदक पाएका छन् भने सुनसरीका सिद्धार्थ तामाङ्गले रजत पदक र सुनसरीका अनमोल केसी र मोरगंका विश्व वानियाले पनि कास्य पदक जितेका छन् । मोरङ्गका रोशन श्रेष्ठ पाँचौ बनेका छन् ।
यस्तै, महिला एकल प्रतियोगितामा पाँचै जना खेलाडी सुनसरी जिल्लाका छन् । बुधबारदेखि भएको खेलमा महिलातर्फ सुनसरीकी अञ्जली ठाकुरले स्वर्ण, दीक्षा दाहालले रजत र सोनम ठाकुरले कास्य जितेका छन् । यसैगरी, रुपा लिम्बू कास्य र सुलेखा ठाकुर पाँचौ बनेका छन् बनेका छन् ।
विभिन्न पदक पाएर प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई शुक्रबार नै एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार बिष्टले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । विजेता खेलाडीहरुको नामावली प्रदेश खेलकुद बोर्डमा पठाइने र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणको आयोजना हुने इटहरी टेबलटेनिस एकेडेमीका सभापति राजेश भट्टराईले जानकारी दिए ।