इटहरीः प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । गत २९ गते भदौदेखि शनिबारसम्म सुनसरीको इटहरीमा सञ्चालन भएको प्रतियोगितामा प्रतिस्पर्धी ओखलढुङ्गालाई हराउँदै झापाले उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलमा झापाले ओखलढुङ्गालाई सोझो सेटमा हराउँदै पुरुष भलिबलको उपाधि जितेको हो ।ओखलढुङ्गाले पहिलो र दोस्रो सेटमा १९ अंक ल्याएको थियो र अन्तिम सेटमा १७ अंकमा सीमित भएको थियो । शुक्रबारसम्म इटहरी रंगशालामा भएको खेल मौसमको कारण शनिबार विश्व आदर्श एकेडेमीको प्राङ्गणमा भएको थियो ।
नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौटअन्तर्गत भएको खेलमा ओखलढुङ्गा दोस्रो भएको छ भने संखुवासभा तेस्रो भएको छ । सेमिफाइनलमा ओखलढुङ्गाले संखुवासभालाई जितेको थियो भने झापाले सोलुखुम्बुलाई जितेको थियो ।
फाइनल खेलमा जित हासिल गरेको झापाको भलिबल टिमलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले शुभकामना दिएका थिए भने शनिबार नै खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
प्रदेश छनौटमा प्रतिस्पर्धा गरेका १४ वटै जिल्लाका खेलाडी मध्येबाट उत्कृष्ट खेलाडी छनौट गरेर नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको पोखरा लैजाने कार्यक्रम रहेको छनौट समितिले जानकारी दिएको छ ।