इटहरीः प्रदेश नम्बर १ को एथलेटिक्स तर्फको सम्पूर्ण छनौट शनिबारबाट सम्पन्न भएको छ ।

शनिबार बिहानसम्म विभिन्न इभेन्टहरु आयोजना गरी दिउँसो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । इटहरी रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले मेडल प्रदान गरेका थिए । एथलेटिक्सको १ सय मिटर दौडमा सुनसरीका विशेष चौधरीले स्वर्ण पदक जितेका छन् भने सुनसरीकै सुनिल गच्छादारले रजत र झापाका राजीव ढुंगानाले कास्य पदक जितेका छन् । यसैगरी, सय मिटरको महिला तर्फको दौडमा सुनसरीकी आरतिकुमारी चौधरीले स्वर्ण, ताप्लेजुङकी कृष्टि दर्जीले रजत र झापाकी निशा माझीले कास्य पदक जितेकी छन् । यता, २ सय मिटर दौडको पुरुषतर्फ सुमित गच्छादार सुनसरीले स्वर्ण, विशेष चौधरीले रजत र मुस्कान याक्खा इलामले कास्य पदक जिते । यस्तै, महिलातर्फ सुनसरीका आरतिकुमारी चौधरीले स्वर्ण, खोटाङ्गकी इन्दिरा श्रेष्ठले रजत र धनकुटाकी जेनिशा मगरले कास्य पदक पाएका छन् ।

pas2

यसैगरी, पुरुष लङ्ग जम्पमा सुनसरीका विशेष चौधरीले स्वर्ण, झापाका राजीव ढुगानाले रजत र सुनसरीकै मुकेश चौधरीले कास्य पदक जिते । यता महिला लङ्ग जम्पमा झापाकी सलिना तामाङ्गले स्वर्ण, सोलुखुम्बुकी मिङ्गमा याङ्गजी शेर्पाले रजत र संखुवासभाकी बिन्दिया कुमालले कास्य पदक पाएका छन् यसैगरी, ४ सय मिटर दौडतर्फ महिलामा संखुवासभाकी सरिता कुमालले स्वर्ण, खोटाङकी इन्दिरा श्रेष्ठले रजत र भोजपुरकी मिना शेर्पाले कास्य पदक जितेका छन् । यता, ४ सय मिटर पुरुष तर्फको दौडमा झापाका विनय अधिकारीले स्वर्ण, मोरङ्गका रोशनकुमार यादवले रजत र झापाकै लिला भित्रिकोटीले कास्य पदक पाएका छन् भने १५ सय मिटर दौडमा झापाका मेघराज राईले स्वर्ण जितेका छन् ।

धनकुटाका अर्जुन लिम्बूले रजत र झापाका प्रेम तामाङ्गले कास्य पदक जित्न सफल भएका छन् । १५ सय मिटरको महिलातर्फ संखुवासभाकी नीला जिमीले स्वर्ण, खोटाङकी पिप्रा बस्नेतले रजत र झापाकी सुस्मिता राईले कास्य पदक जितेका छन् । यस्तै, एथलेटिक्स विधाको सर्टपुटमा महिलातर्फ संखुवासभाकी बिन्डिया कुमारले स्वर्ण जितेकी छन् भने धनकुटाकी सुजाता लिम्बूले कास्य र झापाकी कञ्चन बिमलीले कास्य पदक जितेका छन् । पुरुषतर्फ धनकुटाका लप्पी लिम्बूले स्वर्ण, खोटाङका गणेश बस्नेतले रजत र संखुवासभाका रञ्जित श्रेष्ठले कास्य जितेका छन् । यसैगरी, ज्यावलिङ थ्रोमा ओखलढुङ्गाका जीवन खड्का प्रथम बनेका छन् भने संखुवासभाका सहदेव चौहान दोस्रो र सुनसरीका श्यामकुमार चौधरी तृतीय बनेका छन् ।