इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितिको आयोजनामा आजदेखि प्याब्सन खेल सप्ताह इटहरीमा शुरु भएको छ ।
खेल सप्ताहको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले एक नम्बर प्रदेशलाई खेलकुदका माध्यमबाट चिनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए । विद्यालयले आयोजना गर्ने खेलकुदका यस्ता गतिविधिले दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने पुग्ने उनको भनाइ थियो ।
प्याब्सन नगर समितिले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको नगरसमिति अध्यक्ष सुवर्णबहादुर थापाले बताए । विद्यार्थी शारीरिक रूपमा स्वस्थ नभएसम्म राम्रोसँग पठनपाठन गर्न नसक्ने भएका कारण पनि यस वर्षदेखि महोत्सवकै रूपमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थापाले जनाए ।
महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सका प्रतियोगिता हुने बताइएको छ । नगरका १ सय विद्यालयका विद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महोत्सवमा सहभागी हुने प्रतियोगिता मूल आयोजक उपसमितिका संयोजक पुण्यप्रसाद सापकोटाले बताए ।
महोत्सवमा हुने प्रतियोगिताका लागि विभिन्न खेलका संयोजक तोकिएको बताइएको छ । फुटबलको संयोजकमा हेमन्त शर्मा भट्टराई, क्रिकेटमा दीपक काफ्ले, भलिबलमा तेजबहादुर निरौला, टेबलटेनिसमा खेमराज ढुङ्गेल र ब्याडमिन्टनमा रामकुमार गिरी रहेका छन् । छेलो र ज्याब्लिङ थ्रोमा शिव तिमल्सिना, हाइजम्प र लङजम्पमा नारायण सुवेदी र दौडमा सौधन राईलाई संयोजक तोकिएको छ ।
महोत्सवअन्तर्गतका केही प्रतियोगिता क्षेत्रीय रङ्गशालामा हुनेछन् । यस्तै, इटहरी–४ स्थित सलाइ फ्याक्ट्री छेउको मैदानमा समेत केही प्रतियोगिता हुने बताइएको छ । खेल प्रतियोगिता भने सोमबारदेखि मात्र शुरु हुने प्रचारप्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले जानकारी दिए ।
उद्घाटन समारोहमा गीत सङ्गीतको क्षेत्रमा योगदान गरेको भन्दै गायक सुरेश गन्धर्व र सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीलाई सम्मान समेत गरियो । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडी एवम् विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने श्रेष्ठले जनाए ।