काठमाडौँः १७ वर्षीया किशोरीलाई होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताए । स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । लामिछानेउपर काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । महानगरीय प्रहरी वृत्त गौशालामा भदौ २१ गते उजुरी दर्ता भई २२ गते अनुसन्धान सुरु भएकोमा भदौ २३ गते काठमाडौँ जिल्ला अदालतबाट लामिछानेउपर पक्राउ पुर्जी जारी भएको हो ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि शंकास्पद आरोपी लामिछानेले भने आफू निर्दोष रहेको बताएका थिए । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका थिए । सन्दीपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता क्यानका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लसमक्ष व्यक्त गरेका थिए । तर नेपाल फर्किएर कानूनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको केही दिनमै सन्दीप नेपाल क्रिकेट संघसँग सम्पर्कविहीन भएका छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीबात केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६ गते केन्या गएका थिए । आरोप पुष्टि नभएसम्म सन्दीपविरुद्ध कुनै अनुसन्धान नगर्ने जनाएको क्यानले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई निलम्बन गरेको छ ।