इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को खेलाडी छनौटअन्तर्गत कुस्तिको प्रतियोगिता मंगलबार इनरुवा रंगशालामा सुरु भएको छ । 

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका कुस्ति खेलाडीहरुको सहभागिता रहेको थियो । छनौट प्रतियोगिताको उद्घाटन मंगलबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरेका थिए । जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वती लुइटेल , नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटीका तोया गिरी पोद्दार लगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रमको सभापतित्व कुस्ति प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु आचार्यले गरेका थिए । 

kusti 1 (1)

कुस्ति प्रतियोगिताको उद्घाटन सत्रको पहिलो राउण्डको खेलमा ६५ केजी तौल समुहतर्फ झापाका सुनिल श्रेष्ठले जित हासिल गरेका थिए भने दोस्रो प्रतियोगितामा पनि सुनिलले नै जित हासिल गरे । यसैगरी ५७ केजी तौल समुहमा भएको दुवै प्रतियोगितामा सुनसरीका कपलदेव यादवले जित हासिल गरेका थिए । यस्तै ७० केजी तौल समुहको खेलमा सुनसरीका दीपेन्द्र यादव विजयी बनेका थिए भने ७० केजी तौल समुहको अर्को खेलमा झापाका पुनित मेचेले जित हासिल गरे । 

यस्तै ६१ के जी तौल समुहमा भएको खेलमा सुनसरीका शिवनारायण यादवले जित हासिल गरेका थिए । प्रदेश १ स्तरीय कुस्ति प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ८ बजेबाट सुनसरीको सदरमुकाम इनरुवामा हुने जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वती लुइटेलले जानकारी दिइन् ।