इटहरीः आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि जुडो तर्फको प्रदेश एक छनौट मंगलबार सम्पन्न भएको छ ।
मंगलबारको फाइनल खेलमा पुरुषतर्फ बढी स्वर्ण पदक झापाले पाएको छ भने महिलातर्फ सोलुखुम्बुको बर्चश्व छ । ६० केजी तौल समुहमा भएको पुरुष जुडो प्रतियोगितामा ओखलढुंगाका प्रवनकुमार दियालीले स्वर्ण पदक जितेका छन् भने झापाका राम मर्दीले रजत र सोलुका पेम्वा दोर्जी शेर्पा र दोर्जी शेर्पाले कास्य पदक जितेका छन् । यस्तै, ६६ केजी तौल समुहको खेलमा पाँचथरका उत्तम प्रधान श्रेष्ठले स्वर्ण पदक पाएका छन् भने इलामका सुवास तामाङले रजत र मोरङ्गका प्रियान्सु घोस र झापाका दीपनारायण राजवंशीले कास्य पदक जितेका छन् । यसैगरी, ७३ केजी तौल समुहको प्रतियोगितामा झापाका देवेन्द्रकुमार दाहालले स्वर्ण पदक जितेका छन् भने सोलुका सोनाम छिरिङ्ग शेर्पाले रजत र मोरङ्गका उमाशंकर यादवले कास्य पदक पाएका छन् । यस्तै ८१ केजी माथिको प्रतिस्पर्धामा मोरङ्गका राजबहादुर बोलन प्रथम भएका छन् ।
यसैगरी, ९० केजी तौल समुहको खेलमा झापाका मंगलु मेचेले स्वर्ण, सुनसरीका गणेश खत्रीले रजत र मोरङ्गका पियुष ठकुरीले कास्य पदक जितेका छन् भने कास्यमा मोरङकै प्रशान्त शाहसमेत छन् । यता सय केजी तौल समुहमा भएको प्रतियोगितामा झापाका निश्चल राईले स्वर्ण पाएका छन् भने सय केजी प्लसमा झापाकै प्रेम गुरुङ्गले स्वर्ण र ओखलढुंगाका राहुल भुजेलले रजत जितेका छन् । यसैगरी, महिलातर्फ भएको छनौट प्रतियोगितामा ४८ केजी तौल समुहमा ओखलढुंगाकी सकुन सुनुवारले स्वर्ण पदक पाएकी छन् । यस्तै, सुनसरीकी रिस्ता राईले रजत र झापाका झरना श्रेष्ठ र भावना भण्डारीले कास्य पदक पाएका छन् । यता ५२ केजी तौल समुहमा सोलुकी प्रीतिमाया तामाङ्गले स्वर्ण पदक जितेकी छन् भने झापाकी तुलसीदेवी नेवारले रजत र मोरङ्गकी लीलामाया खड्काले र झापाकी अर्जुु लिम्बूले कास्य पदक जितेका छन् ।
यता ५७ केजी तौल समुहमा सोलुकी पेमा यान्जि शेपाले स्वर्ण, झापाकी अनिता मण्डलले रजत र सुनसरीकी आस्था राईले कास्य पदक जितेका छन् । यसैगरी, ६३ केजी तौल समुहमा सोलुकी बन्दना राईले स्वर्ण पाएकी छन् भने झापाकी इशा कार्कीले रजत र इलामका विनिता आछामे र प्रमिला तामाङ्गले कास्य पदक जितेका छन् । ७० केजी तौल समुहमा भएको प्रतिस्पर्धामा सुनसरीकी समन्ता राईले स्वर्ण जितिन् भने झापाकी रिना धिमालले कास्य जित्न सफल भइन् । यस्तै ७८ केजी तौल समुहमा सुनसरीकी दिव्या लिम्बूले स्वर्ण र झापाकी रिना धिमालले कास्य पदक पाएका छन् । यता, ७८ केजी प्लसतर्फ सुनसरीकै दीपिका अचाजुले स्वर्ण पदक जितेकी छन् भने झापाकी मनिषा भारती गिरीले रजत र मोरङ्गकी गोमा राईले कास्य पदक जितेका छन् ।
यस्तै, अतिरिक्त खेलाडीमा ७३ केजी तौल समुहबाट सोनाम छिरिङ्ग शेर्पा सय केजीतर्फ राहुल भुजेल र ४८ केजीतर्फ रिस्ता राई परेका छन् । पदक पाउने खेलाडीहरुलाई मंगलबार आयोजित समापन कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र प्रदेश नम्बर एक खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।