इटहरीः गण्डकी प्रदेशमा आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ ले महिला बास्केटवलको छनौट खेल बिहिबार सुनसरीको धरानमा आयोजना गरेको छ ।
प्रतियोगिताको बिहिबार प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गरेका छन् । नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरज कुमार लामा तथा बास्केटवल संघका प्रदेश अध्यक्ष सहित सुनसरी जिल्ला कमिटीका पदाधिकारी समेतको सहभागितामा बास्केटवल छनौट प्रतियोगिता शुरु गरिएको हो ।
छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फको छनौट खेल बिहिबार र शुक्रबार देखि पुरुष तर्फको छनौट खेल हुने छ । असोज ८ गते शनिवार सम्म सबै छनौट खेल सम्पन्न गरिसक्ने प्रदेश खेलकुद विकास बोर्डको तालिकासँगै बास्केटबलको पनि शनिवार नै सम्पन्न गरिने छनौट प्रतियोगिताको बास्केटवल तर्फकी संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशरी राईले बताएकी छन् ।
खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले धरान बास्केटवलको लागि स्वर्णभुमि रहेको भन्दै राम्रो खेल देखाएर प्रदेश छनौटमा पर्न र नवौँ खेलकुद प्रतियोगितामा सहभागि भएर प्रदेशको लागि मेडल ल्याउन खेलाडीलाई शुभकामना प्रदान गरेका थिए ।
महिला बास्केटवल तर्फ झापा, मोरङ्ग र सुनसरी गरी तीन जिल्लाका खेलाडीहरु छनौट प्रतियोगितामा सहभागि भएकोमा सुनसरीले स्वर्ण पदक जितेको छ भने झापाले रजत र मोरङ्गको कास्य पदक जित्न सफल भएको छ । प्रदेशको समुहमा छनौट भएका खेलाडीको नामावली छनौट समितिले आजै प्रदेश खेलकुद विकास बोर्डमा पठाउने बताएको छ ।
खेल संयोजक रोशनी राईको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा सचेत धराने समुहका समुह संयोजक निरज लिम्बु, बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ्ग, पुर्व मिस्टर पुर्वाञ्चल हर्कराज लिम्बु, धरान मेगा कलेजका अध्यक्ष कैलास लिम्बु लगायतको उपस्थिती थियो ।