इटहरीः सुनसरी व्याडमिन्टन संघको आयोजना तथा त्रियोग व्याडमिन्टन क्लवको सह–आयोजनामा सुनसरीको धरानमा प्रदेश १ स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । 

नवौँ राष्ट्रिय खेलकुदका लागि व्याडमिन्टन तर्फको छनौट सकिए लगत्तै खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । व्याडमिन्टनको लागि उद्गम मानिने धरानमा निकै व्याडमिन्टनका खेलाडी रहेका छन् भने  प्रदेश १ भरीकै खेलाडीलाई भेला गरेर खेलाडीलाई हौसला दिने हिसावले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलमा उर्जा र हौसलाको लागि बोर्ड सदैव तयार रहेको बताए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहिरहेको बेला धरानमा आयोजना भएको यो व्याडमिन्टन प्रतियोगिताले नवौँको लागि छनौट भएका खेलाडीको लागि पनि सिक्न तथा सिकाउन मद्दत गर्ने बताएका थिए । 

आफु बोर्डमा रहुन्जेलसम्म खेलमा राजनितिकरण हुन नदिने बताउँदै सदस्य सचिव बाग्लेले खेल नै भातृत्वको भावना जगाउने भएकाले सबै जात, धर्म तथा समुदाय खेलको माध्यमबाट एकै ठाउँमा उभिने चर्चा गरे । 

सुनसरी जिल्ला व्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ र सह–आयोजक त्रियोग व्याडमिन्टन क्लका अध्यक्ष नकुल घले गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा त्रियोग व्याडमिन्टन क्लवका सचिव धु्रव याख्खाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष चन्द्र शेखर लामाले भाइचाराको लागि व्याडमिन्टन खेल महत्वपुर्ण रहेको चर्चा गरे । 

कार्यक्रमकै अवसर पारेर आयोजकले समाजसेवी तथा सफल व्यावसायी टंक बहादुर लिम्बु आर्थिक सहयोग गर्ने मैतरानी कन्दङ्गवा, मनिकुमारी राई, अमला गुरुङ्ग तथा याङ्गला लामा शेर्पालाई सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी हंशराज वाग्लेले सम्मानीत व्यत्तिलाई सम्मान पत्र तथा माला लगाएका थिए । 

राष्ट्रिय स्तरका रेफ्री किरणकार रन्जितकारलाई व्याडमिन्टनको कोट प्रमुख अतिथीले हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । प्रदेश एकका २०६ जना खेलाडी र अफिसियल कोच तथा प्रशिक्षकहरुको सहभागिता रहने आयोजकले बताएका छन् । खेल धरानको अमरहाट स्थित बहुउदेश्यीय कभर्डहलमा भइरहेको छ ।