इटहरीः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘ट्रफी टुर’ प्रदेश नम्बर १ को राजधानी विराटनगरमा शनिवार(भोली) आउने भएको छ  ।

 गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय प्रतियोगिताको ‘ट्रफी टुर’सुदूरपश्चिमबाट सुरु हुँदै अहिले बिभिन्न प्रदेशको भ्रमणमा रहेको र प्रदेश १ मा असोज ८ गते(भोली) प्रर्दशनको कार्यक्रम रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिएका छन् । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलको समापन कार्यक्रम र ट्रफीको अनावरण कार्यक्रम सोही दिन विराटनगर स्थित रंगशालामा राखिएको खेलकुद विकास बोर्डले जनाएको छ । प्रदेश मुख्य मन्त्री राजेन्द्र कुमार राई सहित क्याबिनेटका अधिकांश मन्त्रीको उपस्थितीमा ट्रफीको स्वागत गरिने कार्यक्रम रहेको हो ।  

ट्रफीलाई मधेश प्रदेश सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशमा घुमाइसकिएको छ भने प्रदेश १ पछि अन्य बाँकी प्रदेशमा लगिने र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने  कार्यक्रम रहेको छ । ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पु¥याइने छ ।

राष्ट्रिय खेलकुदको माहोल बनाउन राखेपले देशमै पहिलो पटक ‘ट्रफी टुर’ कार्यक्रम ल्याएको हो । प्रदेश १ को टुरमा प्रदेशका महत्वपुर्ण मन्त्रालय, सेना, प्रहरी र सशस्त्र प्रहरी वलका निकाय र अन्य खेल सम्बद्ध संस्था तथा पदाधिकारीहरुको महत्वपुर्ण भेला हुने प्रदेश खेलकुद विकास बोर्डको भनाई छ । 

ट्रफीलाई देशका बिभिन्न प्रदेश र निकायमा टुर गराउने ‘ट्रफी टुर’ कार्यदलमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी छन् । 

ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सम्पुर्ण खेलाडी र सम्वद्ध पदाधिकारी तथा नागरिकलाई ‘ट्रफी टुर’ तथा प्रर्दशन कार्यक्रममा सहभागी भइदिन प्रदेश खेलकुद विकास बोर्डले आग्रह गरेको छ ।