विराटनगरः गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ गतेबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत मोरङको विराटनगरमा सम्पन्न भएको प्रदेश नं १ को पुरुष फुटबल छनोट खेलको फाइनल खेलमा मोरङ विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको हो ।

शनिबार मोरङको विराटनगरमा रहेको सहिद रंगशालामा सम्पन्न भएको फाइनल खेलमा मोरङले सुनसरीलाई २–० गोलले हराउँदै उपाधी जितेको हो ।

निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।

दोस्रो हाफमा भारी पानी परे पछि दुवै टिमले भने जस्तो खेल खेल्न सकेन । मोरङको खेलको ६२ र ७३ औं मिनेटमा जर्सी नं ३ का खेलाडी बिक्रम धिमालले गोल गर्दै आफ्नो टिमलाई उपाधी दिलाएका हुन । विजयी खेलाडीहरुलाई  सामाजिक विकास मन्त्री  माननीय राजन राई लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

भोजपुरलाई तेस्रो स्थान

त्यस्तै प्रदेश १ पुरुष फुटबल छनौट प्रतियोगिता अन्तरगत नै भएको तेस्रो स्थानको खेलमा भोजपुर विजयी भएको छ । खेलमा भोजपुरले संखुवासभालाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

भोजपुरको जितमा १७ औं मिनटमा जर्सी नं ११ का खेलाडी विजय भुजेलले एक गोल गरे । यस्तै संखुवासभाको लागि खेलको २७ औं मिनेटमा जर्सी नं १७ का खेलाडी प्रशु राईले फ्रीकिकबाट सुन्दर गोल गर्दै बराबरी पुर्याएका थिए ।पहिलो हाफ दुवै टिम बराबरीमा खेलेका थिए । खेलको ६६ औं मिनेटमा भोजपुरले एक गोल उपहार पाउदै आफ्नो जित सुनिश्चित गर्दै तेस्रो स्थान प्राप्त गर्यो ।