इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले शुक्रबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन गण्डकी प्रदेश प्रस्थान गर्न लागेका महिला क्रिकेट खेलाडीको विदाई गरेको छ । 

खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले शुक्रबार साँझ रात्री बसमा गण्डकी प्रदेश प्रस्थान गर्न लागेका खेलाडीलाई जितको शुभकामना सहित विदाई गरेका हुन् । 

पुर्व निर्धारित तालिका असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरु अगाडी नै हुने भएकाले खेलाडीलाई शुक्रबारै विदाई गरिएको बोर्डले जनाएको छ । 

पुरुष क्रिकेट प्रतियोगिता भने यस अघि नै आयोजना भइसकेको छ । महिला क्रिकेट टोलिमा १६ जना खेलाडीहरुलाई शुक्रबार विदाई गरिएको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए । विदाई कार्यक्रममा खेलकुद विकास बोर्डका सदस्य शैलेसकुमार बिष्ट, पुर्वाञ्चल खेलकुद विकास समितिका टंक कट्टेल लगायतको सहभागिता रहेको थियो । प्रदेशबाट आज शनिवार हेण्डवल र फेन्सिङ्गका ५९ जना खेलाडीहरु पोखरा जाने कार्यक्रम रहेको छ । शनिवारबाटै पोखरामा प्रदेश एक खेलकुद विकास बोर्डको सचिवालय समेत खडा हुने सदस्य सचिव वाग्लेले बताए ।