प्रकाश बन्जारा 

पोखराः प्रदेश १ कै बहुसंख्यक राष्ट्रिय फुटबल खेलाडी संगेटेर प्रदेश १ सँग नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल मैदानमा आएपछि गैह्र आवासिय नेपाली संघको फुटबल टोली विवादित बनेको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बिहिबार पोखराको लामाटार स्थित गोस्तेघाटको खेलमैदानमा भएको पुरुष फुटबल प्रतियोगितामा एनआरएनको समुहबाट अधिकांश प्रदेश १ का र राष्ट्रिय टिममा खेलेका खेलाडीहरु समावेश भएपछि प्रदेश १ ले विरोध जनाएको थियो । 

प्रदेश १ पुरुष फुटवल टिमका प्रशिक्षक सुरेन्द्र तामाङ्गले गैह्र आवासीय नेपाली संघको फुटवल टोलीमा गैह्र आवासीय नेपालीहरु हुनुपर्नेमा सो नभएको र अधिकांश राष्ट्रिय टिमका खेलाडीहरु किनेर खेलाएको भन्दै विरोध जनाएका थिए । टिम प्रशिक्षक तामाङ्गसँगै टिम व्यवस्थापक प्रकाश मल्लले समेत विरोध गरेपछि प्रदेश १ खेलनै नखेल्ने भएको थियो । 

अल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष दावा लामाले राखेपले एन्फालाई प्राविधिक सहायता गर्न मात्रै भनेकाले आफुहरुले खेल सञ्चालन गरेको तर खेलाडी को खेल्न पाउने को नपाउने भन्ने विषय भने राखेपकै निर्णयमा हुने बताए । तर लामाले प्रशिक्षक तामाङ्गले उठाएको विषयमा भने सहमति जनाएका थिए । 

एनआरएनको फुटवल टोलीमा पहिले अर्कै खेलाडीको नाम आएको भएता पनि एनआरएनले पछि पत्र पठाउँदै खेलाडीहरु परिवर्तन भएको जानकारी गराएको पाइएको छ । 

302946998_486297950085219_1908921451035458389_n

प्रतियोगितामै सहभागी नहुने बताएको प्रदेश १ ले प्रतियोगिता खेल्ने तर प्रोटेस्टको उजुरी हाल्ने सहमति भएपछि खेलमा सहभागिता जनायो तर २ –० को हार व्यहोर्नु पर्यो ।

एनआरएन एकेडेमीको तर्फबाट खेल्ने खेलाडीहरुमा प्रदेश १ का तर राष्ट्रिय टिममा खेलिरहेका फु्टवल खेलाडीहरु विमल घर्ती ,अनन्त तामाङ्ग, विशाल राई ,पुजन उपरकोटी ,सुजल श्रेष्ठ,सन्जोक राई थिए भने प्रदेश एकबाटै खेल्ने मोरङ्गका अशोक खवास समेत एनआरएनको टिमबाट खेलेका थिए ।  प्रदेशको टिमबाट खेल खेल्नका लागि सम्बन्धित प्रदेशमै रहेको स्थायी बासिन्दा हुनुपर्ने भन्ने नियम अनुसार सम्पुर्ण खेलको छनौट प्रतियोगिता सञ्चालन भएकोमा एनआरएनसँग कम्तीमा १ सय ८० दिन भिषा लगाएर विदेशमा बसेको नेपाली खेलाडीमात्रै समावेश हुनुपर्नेमा त्यसो भएको थिएन । 

फुटवल खेलको उद्घाटन कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ्ग उपस्थित थिए भने खेलको पहिलो हाफ पछि प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंशराज वाग्ले, बोर्ड उपाध्यक्ष जिनाजंग कार्कीले पनि खेलाडीको हौसलाको लागि उपस्थिती जनाएका थिए । 

309034895_621051089808903_1512736234452608889_n

प्रदेश १ का सदस्य सचिव वाग्लेले एनआरएनले आफ्ना खेलाडी समावेश गरेर खेलमा सहभागीता जनाउनु पर्नेमा प्रदेश १ का खेलाडीसँगै प्रदेश १ ले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नआउनुपर्ने बताए । उनले प्रदेश एकले प्रदेश छनौटका लागि आवेदन आव्हान गर्दा फर्म भरेका खेलाडीहरु पनि प्रदेश छनौटमा सहभागी नभई एनआरएनतिर गएर खेलेको बताए । ‘प्रदेश १ का खेलाडीले प्रदेश १ बाटै खेल्नुपर्छ सदस्य सचिव वाग्लेले भने । ’

यता प्रदेश १ को तर्फबाट एन्फा र राखेपलाई एनआरएनको खेलाडीको विषयमा प्रोटेस्टको निवेदन परेको छ ।  यसैगरी विवादका विच भएको फुटवल प्रतियोगितामा एनआरएनको टिमले जित निकालेको छ । 

एनआरएनका लागि खेलको आठौँ मिनेनमा जर्सी नम्बर १४ का खेलाडी सन्जोग राईले गोल गरेका थिए भने एनआरएनकै तर्फबाट खेलाडी जर्सी नम्बर २ का खेलाडी विमल घर्ती मगरले दोस्रो हाफको दशौँ मिनेमा एक गोल गरेर आफ्नो टिमलाई जिताएका छन् ।  सोही रंगशालामा दोस्रो खेल वागमती प्रदेश र मधेस प्रदेशको विचमा भएको छ ।