पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका फेन्सिङ्ग प्रतियोगितामा प्रदेश १ ले तीन कास्य पदक जितेको छ ।
फेन्सिङ्ग अन्तर्गत भएका तीन वटै इभेन्टमा प्रदेश १ ले कास्य पदक जितेको हो । पोखरा रंगशाला स्थित व्याडमिन्टन कभर्डहलमा असोज २४ गतेदेखि भएको फेन्सिङ्गका इपि इभेन्टमा महिला तर्फ प्रदेश १ ले कास्य पदक जितेको हो भने फोयल इभेन्ट तर्फ पुरुषमा पनि प्रदेश १ ले कास्य पदक पाएको छ । यता सेभर इभेन्टमा समेत प्रदेश १ को महिला टोलीले कास्य पदक हात पारेका छन् ।
इपि इभेन्टमा प्रदेश १ का महिलाले बागमती प्रदेशलाई हराउँदै कास्य पदक जितेका हुन भने अन्य दुई इभेन्टमा वाइ मार्फत कास्य पदक मिलेको हो । पदक विजेता खेलाडीलाई प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेडल प्रदान गरेका थिए । प्रदेशको लागि नवौ राष्ट्रिय खेलकुद अन्तर्गत यसपालिको पहिलो मेडल ल्याएको भन्दै सदस्य सचिव वाग्लेले खेलाडीलाई बधाई समेत दिए ।
फेन्सिङ्गमा प्रदेश १ लाई मेडल दिलाउनेमा इपि इभेन्ट तर्फ इन्दिरा राई, प्रमिला विश्वकर्मा, मखमली खड्का र तुलसा कुमारी चौधरी छन् भने सेभर इभेन्ट तर्फ कास्य पदक ल्याउनेमा दिल कुमारी श्रेष्ठ, सुसिला चौधरी, संजीवनी चौधरी र यसोदा चौधरी छन् । यस्तै फोयल इभेन्टमा कास्य जित्ने पुरुष खेलाडीहरुमा भुवन मल्लिक, राजेश श्रेष्ठ, करण विक र राजन भण्डारी छन् ।
यसोदा, दिलकुमारी र भुवन बाहेक सबै खेलाडी राखेपले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागी भएका हुन ।
खेलाडीहरुले प्रदेशमा प्रशिक्षकको अभाव, इन्डोर गेभ भएपनि हल नहुँदा रंगशालाको प्याराफिट मुनि बसेका टे«निङ्ग गर्नुपरेको र अरु भन्दा खेल सामाग्री तथा युनिफर्ममा समेत महंगो भएको समस्या सुनाएका छन् ।