धरानः धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको दोस्रो दिन क्रिकेट, फुटबल, भलिबल, बास्केटबल र ब्याडमिन्टनका २० वटाभन्दा बढी खेलहरू सम्पन्न भएका छन् ।

साइन्याप्स आयोजक समितिका क्रिकेट संयोजक दिलीप गुप्ता र नवीन चौधरीका अनुसार बीपी ब्लु र विराट मेडिकल कलेजबीच भएको क्रिकेट प्रतियोगितामा बीपी ब्लुले ४७ रनले जीत हासिल गरेको थियोे । बीपी ओरेन्ज र केयुएसएमएसबीच भएको क्रिकेट प्रतियोगितामा बीपी ओरेन्जले ४७ रनले जीत हासिल गरेको थियोे ।

त्यस्तै, फुटबल खेल संयोजक प्रबिन भुसालका अनुसार बीपी डाक्टर्स र नोबेल मेडिकल कलेजबीच भएको फुटबल खेलमा बीपी डाक्टर्स टिमले १–० ले जितेको थियो । त्यस्तै, आइओएम र सीएमसीबीचको म्याच सीएमसीले २–०, बीपी एल्लो र किस्टबीचको म्याचमा किस्टले १–०, एनएमसी र केएमसीबीचको खेलमा एनएमसीले ५–० तथा जेएमसी र कोम्सबीचको खेलमा कोम्सले १–० ले खेल जितेको अर्का संयोजक सुनित क्षेत्रीले बताए ।

भलिबल खेल संयोजक डीबी गुरुधामी र सिद्धराज रोकायाका अनुसार सीएमसी र एनजीएमसी (ब्वाइज) बीचको खेल सीएमसीले २–०, नोबेल र विराट (गल्र्स) बीचको खेलमा नोबेलले २–०, बीपी रेड र किस्ट (गल्र्स) बीचको खेलमा बीपी रेडले २–०, बीपी ब्लु र विराट (ब्वाइज) बीचको खेल बीपी ब्लुले २–० तथा एनएमसी र केयुएसएमएस (ब्वाइज) बीचको खेल केयुएसएमएसले २–० ले जीत हासिल गरेका थिए ।

बास्केटबल खेल अन्तर्गत बीपी ब्ल्याक र विराट (ब्वाइज) बीच भएको खेलमा बीपी ब्ल्याकले ३५–१२, सीएमसी र आइओएम (ब्वाइज) बीचको खेलमा सीएमसीले २१–१२, एनजीएमसी र युसीएमएस (ब्वाइज) बीचको खेल एनजीएमसीले २४–१८ तथा बीपी ब्लु र किस्ट (गल्र्स) बीचको खेलमा बीपी ब्लुले ३२–१ ले जीत हासिल गरेको जानकारी बास्केटबल संयोजक आशुतोष पाण्डे, सुशान्त चौधरी र तेजेश साहले जानकारी दिए ।

यस वर्षदेखि प्रायः सबै मेडिकल कलेजहरूले विद्यार्थीलाई विभिन्न प्रतियोगिताहरूका लागि तयार गरेकाले गत वर्षहरू भन्दा यो वर्ष खेल तथा अन्य कार्यक्रमको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक शुभम्कुमार अग्रवाल बताउँछन् ।

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य वीरेन्द्र महतो र प्रविन्द गुप्ताले बताए ।

यस पटक भएका खेलहरू निकै रोचक र प्रतिष्पर्धात्मक भएको खेल हेर्न पुगेका एक्सप्लोजन इनर्जी जुसका मार्केटिङ म्यानेजर नितेशराज नायकले बताए ।