प्रकाश बन्जारा 

पोखराः गण्डकी प्रदेशको पोखरामा  जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ अधिकांश प्रदेश १ का राष्ट्रिय टिम सहितका खेलाडीलाई खेलाएपछि प्रदेश १ ले राखेपमा गरेको प्रोटेष्ट उजुरीको फैसला प्रदेश १ को पक्षमा भएको छ । 

एनआरएनले नेपाली राष्ट्रिय टोलीका बिमल घर्ती मगर, सुजल श्रेष्ठ, पुजन उपरकोटी, अनन्त तामाङ, निशान खड्का लगायत केही खेलाडीहरुलाई आफ्नो टिममा राखेर फुटवलको प्रतिस्पर्धामा उत्रिएपछि प्रदेश  १ खेलकुद विकास बोर्डले राखेपमा प्रोटेष्टको उजुरी हालेको थियो । 

गैह्र आवासिय नेपालीको टिमबाट खेल्न गैह्र आवासिय नेपाली नै हुनुपर्ने भन्दै प्रदेश १ को फुटवल टिमका प्रशिक्षक सुरेन्द्र तामाङ्गले खेलको शुरुमै विरोध जनाएका थिए । पछि प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिवले राखेपमा प्रोटेष्टको उजुरी दिएका थिए । 

शनिवार राखेपको प्राविधिक टोलिले प्रदेश १ को पक्षमा फैसला गर्दै एनआर एनका आठ खेलाडीले खेल्न नपाउने निर्णय गरेको छ । निर्णय आफ्नो पक्षमा आएपछि सकारात्मक निर्णय गरेको भन्दै प्रदेश १ ले राखेपलाई धन्यवाद दिएको छ । 

यो निर्णयसँगै प्रदेश १ ले एनआरएनए विरुद्धको खेलको नतिजा पनि आफ्नो पक्षमा पारेको छ भने गैरआवासीय संघ (एनआरएनए) को फुटबल टोलीमा रहेका आठ खेलाडीहरुले बाँकी खेलहरुमा खेल्न नपाउने भएका छन् । उनिहरु नखेल्दा एनआरएनसँग १२ जनामात्रै खेलाडी छन् उनिहरुले तीनै खेलाडीबाट प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

असोज २८ गते भएको खेलमा एनआरएनएले प्रदेश १ विरुद्ध २–० ले विजयी गरेको थियो ।