पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रो खेलको रेगु पुरुष तर्फको खेलमा प्रदेश १ ले कास्य पदकमा चित्त बुझाएको छ । 

गण्डकी प्रदेशमा भइरहेको सेपाकताक्रोको रेगु इभेन्टमा प्रदेश १ ले कास्य पदक जितेको हो । 

सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै प्रदेश १ ले कास्य पदक जितेको हो । रेगु इभेन्टको  फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुनेछ । मंगलबार सेपाकताक्रोको क्रवाड विधा अन्तर्गतको पुरुष र महिलाको पदकको छिनोफानो हुने आयोजकले बताएको छ । 

यस अघि आईतबार सम्पन्न महिला र पुरुषको डबल तर्फ विभागिय टोली नेपाल आर्मीले दुई स्वर्ण जितिसकेको छ । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका गरी कुल ९८ खेलाडीले भाग लिएका छन ।