टीकापुरः  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गरेकी छन्  । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाए । 

अध्यक्ष श्रेष्ठ २०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहनुभएका यही क्षेत्रबाट निर्वाचित पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमति हुन् । रामजनम कांगे्रस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत हुन् । 

विजयी सभालाई सम्वोधन गर्दै श्रेष्ठले जनताको आवाज सुनेर सरकारले जेलमा रहेका रेशमलाल चौधरीसहित राजबन्दीलाई रिहा गर्नुपर्ने, सरकारले लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग गरिन् । 

यहाँ नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले पाँच हजार ९१०, राप्रपाका लोकेन्द्र कुँवरले तीन हजार ६४८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका टङ्कप्रसाद ढुङ्गानाले एक हजार ८६९ मत पाए । यहाँ ६४ हजार ९९९ मत खसेको थियो ।