काठमाडौंः दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ ।

बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अङ्क बढेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शेयर ९२ करोड ५१ लाख ७४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढे पनि बिहीवार कारोबार रकम भने घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।  निर्जीवन बीमा उपसमूहको परिसूचक ०।०४ प्रतिशत घटेको छ ।

बिहीवार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । तर यता किसान लघुवित्त वित्तीयको शेयर मूल्य भने २.८९ प्रतिशत घटेको छ । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।