इटहरीः नेकपा एकीकृत( समाजवादी)ले थप २ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । सो पार्टीले प्रतिनिधिसभा तर्फ डोल्पा र धादिङबाट विजय हासिल गरेको हो । 

यसअघि सो पार्टीले ७ स्थानबाट विजय हासिल गरिसकेको छ । थप २ स्थान सहित नेकपा एकीकृत समाजवादीले हालसम्म ९ सिटमा विजय हासिल गरेको छ । 

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

यता बागमती प्रदेशका मुख्यमन्त्री  तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरेका छन् ।