इटहरीः उपाधि दाबेदारको आशा गरिएको पोर्चुगलले कतार विश्वकप फुटबलमा आफ्नो विजयी सुरुवात गरेको छ ।
बिहिबार कतारको स्टेडियम ९७४ मा भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजय शुरुवात गरेको हो ।
पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि जित निकालेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा टुगिएपनि दोस्रो हाफमा दुवै टिमले गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।
यो गोलले रोनाल्डोलाई पाँच विश्वकपमा लगातार गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान दिलायो ।
रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।
खेलको ७३ औं मिनेटमा घानाले १ गोल गर्द खेललाई बराबरीमा ल्याएको थियो भने खेलको ७८ औं मिनेटमा एक गोल गर्दै जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३–१ ले अघि रह्यो । खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३–२ ले विजयी भयो ।