काठमाडौंः दाङ जिल्लामा नेकपा एमाले पत्तासाप भएको छ । एमालेले दाङमा कुनै सीट जित्न सकेन । यसअघि एमालेको राम्रो पकड मानिएको दाङ एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला हो ।

तीन निर्वाचन क्षेत्र रहेको दाङमा यस पटक तीनै क्षेत्रमा सत्ता गठकन्धन विजयी भएको छ । दाङमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो । यस पटक एमालेका प्रभावशाली नेता मानिएका महासचिव शंकर पोखरेल सयंम दाङ–२ बाट पराजित भएका छन् ।

उनलाई गठबन्धनका उम्मेदवार नेकपा माओवादीका रेखा शर्माले पराजित गरेका हुन् । माओवादीकी शर्माले २६ हजार ८७७ मत पाउँदा शंकरले २६ हजार ६८१ मत ल्याए । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र सन्नाटा छाएको छ ।

दाङका प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका । दाङ–१ मा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मतले पछि पार्दै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।

यस्तै, दाङ–३ मा एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भएका छन् । गिरीले ३६ हजार ८४२ मत पाए भने कोमल वलीले २९ हजार ३२ मत पाए ।

यस्तै, प्रदेशसभातर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । दाङ–१ प्रदेशसभा ‘१’मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी भए । प्रदेशसभा ‘ख’मा गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी भएका छन् ।

यस्तै, दाङ–२ का प्रदेशसभामा पनि दुवै क्षेत्रमा गठबन्धनले जितेको छ । प्रदेशसभा ‘१’ नेकपा एमालेका बलिभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी भएका छन् भने ‘ख’मा एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टुले जितेका छन् ।

यस्तै, दाङ–३ को प्रदेशसभा ‘१’ र ‘२’मा पनि गठबन्धन विजयी भएको छ । प्रदेशसभा ‘१’मा एमालेका घनश्याम पाण्डेलाई पछि पार्दै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् भने प्रदेशसभा ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी भएका छन् ।