इटहरीः पहिलो खेलमा इङ्गल्याण्डसँग हार व्यहोरेको इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार वेल्ससँग भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । 

इरानका लागि खेलाडीद्धय रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरेका थिए । दुवै खेल थप समयमा भएको थियो । 

खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को रोमान्चक जित दिलाए ।

इरानलाई सजिलो बनाउन वेल्सका गोलकिपर वायन हेनेसी बाहिरिनु पनि एक कारण बन्यो । 

इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।

यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।