इटहरीः  कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई २ गोलको अन्तरले हराएको छ ।  

गए राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । 

पहिलो खेलमा साउदी अरेबियासँग पराजित अर्जेन्टिना जित्नै पर्ने दबाबमा खेलेको थियो । सोही बमोजिम  दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।