इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितिले आयोजना गरेको प्याब्सन खेलकुद सप्ताह अन्तर्गत बिहीबार विभिन्न खेलका फाइनल प्रतिष्पर्धा सम्पन्न भएका छन् ।

बिहीबार टेबलटेनिस, सटपुट, ज्याब्लिङ थ्रो र दौडको अन्तिम नतिजा सार्वजनिक भएको हो । बिहीबार सम्पन्न टेबलटेनिसमा सुनसरी सेन्ट जेभियर्स स्कुलका युकेश रोक्का क्षेत्री पहिलो हुँदा पशुपति बोर्डिङ स्कुलका एलिस कट्टेल दोस्रो र वाइ पोइन्टिङ बोर्डिङका सुभाष खड्का तेस्रो भए ।

त्यस्तै, सटपुटमा लिटिल फ्लावर स्कुल तरहराका शेखर राई पहिलो, सेतो बंगला स्कुलका अभिषेक दनुवार दोस्रो र हिमशिखर स्कुलका बादल राई तेस्रो भए । यस्तै ज्याब्लिङ थ्रोमा मकालु सेकेण्डरी स्कुलका अर्जुन सिलवाल पहिलो, लिटिल फ्लावरका कृष्ण चौधरी दोस्रो र ब्लुमिङ लोटस स्कुलका युदिप तामाङ तेस्रो भए ।

बिहीबार नै दौडका विभिन्न इभेन्ट्सका फाइनल खेल सम्पन्न भएका छन् । प्राथमिक तह अन्तर्गत छात्रा १ सय मिटर दौडमा डिभाइन लभ स्कुलकी अर्पणा गौतम पहिलो, सुनसरी क्रिस्टलकी ललिसा तामाङ दोस्रो र लिटिल फ्लावर स्कुलकी आज्ञा मिश्रले तेस्रो स्थान पाए ।

१ सय मिटर छात्रतर्फ हिमशिखर इङ्लिस स्कुलका मुनाल मगर पहिलो, कोशी सेन्ट जेम्सका मनोज गिरी दोस्रो र इटहरी मोडलका दिपेश बिक तेस्रो भए । २ सय मिटर छात्रा दौडतर्फ हिमशिखरकी तनुजा मगर पहिलो, गोदावरी विद्या मन्दिरकी आयुषा चौधरी दोस्रो र भेल्भेट स्कुलकी नेहा बिक तेस्रो भए । यस्तै, २ सय मिटर छात्रतर्फ हिमशिखरका मुनाल मगर पहिलो, इटहरी मोडेलका दिपेश बिक दोस्रो र लिटल फ्लावरका पर्वत चौधरी तेस्रो भए ।

निमावि तह अन्तर्गतको २ सय मिटर दौडमा छात्रातर्फ लिटल फ्लावरकी दिपशिखा बिक पहिलो, ब्राइट फ्युचरकी सुजता श्रेष्ठ दोस्रो र वाइ पोइन्टिङकी करुणा घिमिरे तेस्रो भइन् । २ सय मिटर छात्रतर्फ मोर्डन प्रिपेटरीका नितेश चौधरी पहिलो, वाइ पोइन्टिङका सागर सर्राफ दोस्रो र सुनसरी क्रिस्टलका सुशन चौधरी तेस्रो भए ।

यस्तै, छात्रातर्फको ४ सय मिटर दौडतर्फ लिटल फ्लावरकी सन्ध्या श्रेष्ठ पहिलो, मोर्डन प्रिपेटरीकी दिलासा चौधरी दोस्रो र गोदावरी विद्या मन्दिरकी अनु केसी तेस्रो भइन् । ४ सय मिटर दौड छात्रतर्फ मोर्डन प्रिपेटरीका रोहित चौधरी पहिलो, शिखर एकेडेमीका सुरज मेहेता दोस्रो र ग्रीनपिस एकेडेमीका प्रहलाद चौधरी तेसो्र भए ।

माध्यमिक तह अन्तर्गत २ सय मिटर छात्रा तर्फ मोर्डन प्रिपेटरीकी अनुदिता तिम्सिना पहिलो, लिटिल फ्लावरकी दीपशिखा बिक दोस्रो र सुनसरी सेन्ट जेभियर्सकी निकिता श्रेष्ठ तेस्रो भइन् । यस्तै ४ सय मिटर दौडमा छात्रातर्फ कोशी सेन्ट जेम्सकी सेलिना तामाङ पहिलो, नोबेल एकेडेमीकी सोनिका शाक्य दोस्रो र मोर्डन प्रिपेटरीकी अनुदिता तिम्सिना तेस्रो भइन् ।

४ सय मिटर दौडमा छात्रतर्फ मकालु इङ्लिस स्कुलका माधव पाठक पहिलो, शिखर एकेडेमीका मनिष मगर दोस्रो र लिटल फ्लावरका नरेन्द्र चौधरी तेस्रो भए । यस्तै १ सय मिटर दौडमा छात्रतर्फ पशुपति बोर्डिङका इकिल लिम्बू पहिलो, हिमशिखरका अमर थापामगर दोस्रो र बाल आदर्श स्कुलका सेगल चौधरी तेस्रो भए ।

आइतबार शुरु भएको प्रतियोगितामा बिहीबार फुटबल, भलिबल र क्रिकेटका दोस्रो चरणका खेल सम्पन्न भएका छन् । यी खेलको फाइनल शनिबार सम्पन्न हुने प्रचारप्रसार संयोजक राजेश श्रेष्ठले जानकारी दिए । प्याब्सन इटहरी नगर समितिले आयोजना गरेको खेल महोत्सवमा इटहरी क्षेत्रका संस्थागत विद्यालय सहभागी भएका छन् ।