काठमाडौंः काठमाण्डौ उपत्यका विकास प्राधिकरणले अनाधिकृत रुपमा बनेका संरचना हटाउन ३५ दिने सुचना बुधबार सार्वजनिक गरेको छ । 

थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि आक्रमण भएको तेस्रो दिन उपत्यका विकास प्राधिकरणको यस्तो सुचना आएको हो ।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले पनि साथ दिएकी छन् । 

उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । 

खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ । सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’