काठमाडौँः वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना ९साउन–कात्तिक०सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपियाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपियाँको निर्यात भएको छ ।

चार महिनामा कृषिजन्य वस्तुको आयातमा समेत उल्लेख्य कमी आएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा कृषिजन्य वस्तुको आयात ३३ दशमलव २४ प्रतिशतले घटेर ९७ अर्ब १९ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ४५ अर्ब ५८ करोड रुपियाँको आयात भएको थियो । 

यो चार महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रुपियाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रुपियाँको भटमास आयात भएको थियो । यस्तै पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपियाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रुपियाँको आयात भएको थियो । यस्तै ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रुपियाँ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा सात अर्ब २८ करोड रुपियाँ आयात भएको छ । 

यस्तै उक्त चार महिनाको अवधिमा चामल आयात ३७ दशमलव ५९ प्रतिशतले घटेर पाँच अर्ब ९३ करोड रुपियाँको आयात भएको केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा नौ अर्ब ५० करोड रुपियाँको चामल आयात भएको थियो । 

मकै आयात ३१ दशमलव ६३ प्रतिशत घटेर चार अर्ब ७३ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा छ अर्ब ९२ करोड रुपियाँको आयात भएको थियो । धान आयात ७७ दशमलव ६४ प्रतिशतले घटेर ८५ करोड रुपियाँ बराबरको भएको छ । अघिल्लो वर्ष तीन अर्ब १७ करोड रुपियाँको आयात भएको थियो । गहुँ आयात ९६ दशमलव ९१ प्रतिशतले घटेर छ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब आठ करोड रुपियाँको आयात भएको थियो । 

यस्तै दलहन बालीको आयात ४८ दशमलव ६८ प्रतिशतले घटेर चार अर्ब ४२ करोड रुपियाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ६१ करोड रुपियाँको आयात भएको थियो । चार महिनामा लसुनको आयात १० दशमलव ३८ प्रतिशतले घटेर ३७ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४१ करोड रुपियाँको आयात भएको थियो । 

यस्तै चिनी आयात ७२ दशमलव ४० प्रतिशतले घटेर ८८ करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब १७ करोड रुपियाँको आयात भएको थियो । यस्तै आलुको आयात १० दशमलव ३० प्रतिशतले घटेर चार अर्ब रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा चार अर्ब ४५ करोड रुपियाँको आयात भएको थियो । 

आयात कडाइको प्रभाव

आयातकर्ता सङ्घ, नेपालका उपाध्यक्ष एसपी ढकालले नेपाल राष्ट्र बैङ्कले आयातमा गरिएको कडाइले गर्दा कृषिजन्य वस्तुुलगायतका अन्य सामानको आयातमा उल्लेख्य कमी आएको बताए ।  “बजारमा तरलता अभाव छ, बैङ्कको चर्को ब्याजदरले व्यवसायीले सामान आयात गर्न सकिरहेका छैनन् । राष्ट्र बैङ्कले निश्चित एचएस कोड भएका वस्तुको आयातमा प्रतिबन्ध लगाएको भए व्यवसायीलाई वैकल्पिक उत्पादनमा जान सहज हुन्थ्यो,” उनले भने । 

विदेशी मुद्रा सञ्चिति बढाउन गरिएको आयातमा प्रतिबन्ध गर्नु केही समयका लागि उचित भए पनि कच्चा पदार्थ आयात गरेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले बैङ्कको उच्च ब्याजदर र व्यवसायीले ऋण नपाउँदा सामान आयातमा कमी आएको धारणा व्यक्त गरे । यस्तै चार महिनाको अवधिमा डेरीजन्य उत्पादनको आयात भने २३ प्रतिशतले बढेर ८२ करोड रुपियाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा ६६ करोड रुपियाँको आयात भएको थियो । 

प्याज र स्याउको आयात बढ्यो

चालू आर्थिक वर्षको चार महिनामा दुई अर्ब १९ करोड रुपियाँको प्याज आयात भएको छ भने अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब १७ करोड रुपियाँको आयात भएको थियो । यसैगरी स्याउको आयात २ दशमलव ८६ प्रतिशतले बढेर दुई अर्ब ८० करोड रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ७२ करोड रुपियाँको आयात भएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।