इटहरीः लामो समयको अन्तराल पछि बजारमा साधारण शेयर बिक्रि खुल्ला भएको छ ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको साधारण शेयर आज बुधबार (मंसिर २१ गते)देखि सर्वसाधारणका लागि निष्काशनमा ल्याइएको हो । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बरबारको ५ लाख ५४ हजार कित्ता शेयर निष्काशनमा ल्याएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाट नभएको १ लाख ४ हजार कित्तासहित सो शेयर निष्काशन गर्न लागेको हो । सो मध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जारी पूँजीमध्ये १८ करोड रुपैयाँ संस्थापक शेयरधनीहरुबाट चुक्ता गरिसकेको छ भने बाँकी ७ करोड रुपैयाँ सार्वजनिक निष्काशनमार्फत संकलन गर्नेछ । यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा आईपीओ निष्काशन गरेर १ करोड ४६ लाख रुपैयाँ संकलन गरिसकेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५२ करोड पुग्नेछ ।