धरानः हिसान बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन र धरान उच्च मावि च्याम्पियनसिप बनेको छ ।
शनिबार हिसान स्पोर्टस मिट अन्र्तगत सम्पन्न प्रतियोगितामा धरान मेघा हिमालयन र धरान उच्च मावि च्याम्पियन बनेको हो । प्रतियोगितामा फाइनल खेलमा पुरुषतर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमिलाई ४५–३४ र महिलातर्फ धरान उच्चले धरान मेघालाई २१–११ अंकले पराजित गर्दै च्याम्पियन बनेको हो ।
हिसान सुनसरीको आयोजनामा संपन्न पुरुषतर्फको फाइनल खेलको प्रत्येक क्वाटरमा मेघा हिमालयन र एम्स एकेडेमिले १३–९, १०–१२, १३–१० र ९–३ अंक जोडेका थिए । यस्तै, महिलातर्फ धरान उच्च र मेघा हिमालयनले ६–२,२–६,९–१ र ४–२ अंक ल्याएका थिए । यस्तै, फाइनल खेलको म्यानअफ द म्याच पुरुषतर्फ धरान मेघाका सविन राई र महिलातर्फ धरान उच्चका सविना राई घोषित भए ।
मोस्ट इमर्जिङ्ग प्लेयरमा पुरुषतर्फ एम्सका सितम लिम्वु र महिला तर्फ मेघा हिमालयनका संझना राई घोषित भए । हाइ स्कोररमा पुरुषतर्फ धरान आर्दशका सौगात मल्ल र महिलातर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन । प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर पुरुषतर्फ मेघा हिमालयनका योगेश राई र महिला तर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रम्ुख अतिथि प्रदेशसभा सदस्य रमेश वस्नेत, हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरे, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको थियो ।