काठमाडौँः नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैङ्क तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बुधबार बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले चार दशमलव दुई प्रतिशत र विकास बैङ्क तथा वित्त कम्पनीले चार दशमलव आठ प्रतिशतभन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
त्यस्तै, स्प्रेडदर २०८० असार महिनादेखि वाणिज्य बैंकका लागि चार प्रतिशत र विकास बैङ्क तथा वित्तीय संस्थाका लागि चार दशमलव छ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिसक्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
एकीकृत निर्देशनको यसअघिको व्यवस्थामा औसत ब्याजदर अन्तर वाणिज्य बैंकका लागि चार दशमलव चार प्रतिशत र विकास बैङ्क तथा वित्त कम्पनीका लागि पाँच प्रतिशतभन्दा बढी नहुने व्यवस्था थियो ।
केही समयअघि मात्र राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र ०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको थियो ।
मौद्रिक नीतिको समीक्षाबाट औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैङ्क र वित्त कम्पनीको औसत ब्याजदर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्ने निर्णय राष्ट्र बैंकले गरेको थियो । मौद्रिक नीति समीक्षाबाट गरिएको सोही निर्णय कार्यान्वयनका लागि राष्ट्र बैंकले एकीकृत निर्देशनमा परिमार्जन गरेको हो ।रासस