इटहरीः कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ को तेस्रो उपाधि  क्रोएसियाले  हासिल गरेको छ ।

दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशलामा शनिवार भएको खेलमा मोरोक्कोलाई   २–१ गोलअन्तरले हराउदै क्रोएसियाले  विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो ।

क्रोएसियासगको हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा परेको छ । विश्वकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।