सङ्खुवासभाः तेस्रोे पांमा कप फुटबल प्रतियोगितामा ३ वटा टिम सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पांमा सामुदायिक सेवा क्लब, वरुण गुम्बा र सङ्खुवासभा युनाइटेड क्लब सेमीफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको क्वाटर फाइनल खेलमा पांमा सामुदायिक सेवा क्लबले पाँचखपन युवा क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

त्यस्तै, लोहोरुङ क्लब ए र वरुण गुम्बाबीच भएको खेलमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत् खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा चिसोपानी गुम्बाले ४–२ गोल अन्तरले जीत निकाल्दा सङ्खुवासभा युनाइटेड क्लबले पांमा सामुदायिक सेवा क्लब बी लाई १–० ले पराजित गरेको थियो ।

क्वाटर फाइनलका बाँकी खेल शनिबार बिहान ८ बजे शुरु हुने आयोजक समितिका अध्यक्ष सरोजकुमार राईले जानकारी दिए । क्वाटर फाइनलका खेल तुम्लिङटार स्पोर्टिङ क्लब र लोहोरुङ क्लब बीबीच हुने जनाइएको छ ।

गत पुस ४ गते शुरु भएको प्रतियोगितामा सङ्खुवासभाका उत्कृष्ट १६ क्लबले सहभागिता जनाएका थिए । पांमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भगिवन्त रङ्गशालामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख १३ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा प्रवेश गर्ने दुवै टिमले १५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ३– ३ हजार नगद र ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता पुस ८ गते सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्रीको उपस्थितिमा समापन हुने आयोजकले जनाएको छ ।