अर्घाखाँचीः  अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो । 

एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । पाणिनी गाउँपालिका —१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । यहाँका कृषकले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका छन् । 

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी सुन्तला फलेको बताए । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उनले बताए । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उनले बताए ।  

किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपियाँ आम्दानी गरेको बताए । यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताए । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्नेगरेको उनले जानकारी दिए । बजारमा अहिले १ सय रुपियाँदेखि १ सय ५० रुपियाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।

यस वर्ष पाणिनीको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डारण गरेका छन् । अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेलले बताए । 

अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्नेगरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारीहरू ट्रक लिएर नै किसानको घरमा पुग्नेगरेका हुन् । व्यापारीहरू सुन्तला खरिद गर्न घरमै पुगेको खबर गोरखापत्र अनलाइनमा प्रकाशित छ ।