तेह्रथुमः तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएका छन् ।

हिजो भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई ४–२ र इलामले झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पाँचथरका लागि गजिन राईले १ गोल फर्काएका थिए । निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै उदयपुर विजयी भएको थियो ।

हिजै भएको सेमीफाइनलको दोस्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष राई र पासाङ शेर्पाले १–१ गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल आज हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश नंं १ का १० जिल्लाका १० टिम सहभागी छन् । विजेताले नगद २ लाख ५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।