काठमाडौँः दुई सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैङ्कको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैङ्कहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारण सभामा लैजाने जनाएका छन् ।
वाणिज्य बैङ्कको सञ्चालक समिति बैठकले बैङ्कको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने बिहीबार जारी सूचनामा उल्लेख छ ।
वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयर धनी कोष परिवर्तनको विवरण लगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारण सभामा लैजाँदै छ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदै छ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।
गत असार मसान्तसम्ममा वाणिज्य बैङ्कको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदै छ । त्यस्तै, बैंकका सेयर धनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारण सभामा लगिने बैंकले जनाएको छ ।
वाणिज्य बैङ्कमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैङ्कको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज (शेयर धनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।
त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैङ्कको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैङ्कको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदै छ । रासस