धरानः पुरस्कार नदिएको भन्दै एन्फामा उजुरी गरेपछी मनाङ्ग र धरान फुटबल क्लब बिच समस्या देखिएको छ । धरान फुटबल क्लबलाई कतैपनी रोक नहुने र २३ औं संस्करण बुढासुब्बा गोल्डकप सुरु अघिनै पुरस्कार दिइसक्ने एन्फाका वरिष्ठ उपाध्यक्ष किशोर राईले बताएका छन् । 

आयोजक धरान फुटबल क्लबका अनुसार तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने जनाएको थियो । उक्त रकम भुक्तानी नहुदा र अन्य रकम संकलन हुन नसक्दा बिजेताहरुलाई पुरस्कार दिन विशेष समस्या परेको धरान फुटबल क्लबले जनाएको छ ।

‘२२ औँ संस्करणको उद्घाटनमा समेत मुख्यमन्त्री शेरधन राईले १० लाख रुपैयासँगै केही रकम थप गर्ने वाचा गर्नु भएको थियो । तर सो रकम हालसम्म पाउन सकेनौँ ।  भनिएको बजेटका लागि पटक–पटक मन्त्रालय पुग्यौँ तर सुनुवाइ भने भएन’, क्लब्का अध्यक्ष समेत रहेका किशोर राईले थपे ।

विगतको प्रदेश सरकारले दिने रकम अन्यत्र उपलब्ध गराउँदा, कोभिडका कारण बजारबाट रकम संकलन हुन नसक्दा समस्या भएको अध्यक्ष राईको भनाइ छ । 

धरान क्लबले पोखरामा हुने आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करणमा सहभागिता जनाउने भएपछि पुरस्कार रकमको विषय उठान भएको हो ।

FB_IMG_1671881787574

धरान क्लबका महासचिव प्रताप तामाङले २२ औँ संस्करणका विजेता टोलीलाई निर्धारित राशिबाट २ लाख ५० हजार उपलब्ध गराइसकेको र बाँकी ७ लाख ५० हजार रुपैयाँ २३ औँ संस्करण पूर्व उपलब्ध गराउने जानकारी दिए । 

महासचिव तामाङले भने, ‘तत्कालीन मुख्यमन्त्री शेरधन राईले सरकारबाट १० लाख रुपैयाँ पहिलो पुरस्कारका लागि उपलब्ध गराउने वाचा गर्नुभएको थियो। जसमा प्रतियोगितापछि पटक–पटक मन्त्रालय धाउँदा ५ लाख रुपैयाँ मन्त्रालयबाट पास भएको खबर भयो ।  तर सो रकम समेत अहिलेसम्म पाउनसकेका छैनौँ । तत्कालीन राखेप सदस्यसचिव रमेश सिलवालले बजेट फ्रिज भएपछि रकम थप गरेर २३ औँ संस्करणमा उपलब्ध गराउने वाचा गर्नुभएको थियो ।  तर सो रकमसमेत आयोजकले पाउन सकेन।’

महासचिव तामाङले मनाङलाई केही दिनभित्र बाँकी साढे ७ लाख रुपैयाँमध्यको रकम भुक्तान गर्ने र पुलिसको पुरस्कार रकम समेत २३ औं संस्करणसम्ममा चुक्ता गर्ने जानकारी दिए । 

मनाङले बुढासुब्बा गोल्डकपको रकम नपाएको निवेदन अखिल नेपाले फुटबल संघ एन्फामा गरेको थियो । 

एन्फाका महासचिव किरण राईले मनाङको निवेदन एन्फामा आएको र त्यसबारे छलफल गरी सहजीकरण गर्ने बताए । 

क्लबले कोभिडसँगै निर्वाचनका कारण २२ औँ संस्करणको आर्थिक हिसाब सार्वजनिक गर्न सकेको छैन । क्लबले प्रदेश सरकार, राखेप, बजारबाट रकम जुट्न नसक्दा आर्थिक हिसाबमा समेत समस्या भएको जनाएको छ ।

IMG_20221223_183853

यसअघि २०७७ चैत्रमा पत्रकार सम्मेलन गर्दै २२ औं संस्करणका उपाधि विजेता र उपविजेतालाई पूरा रकम भुक्तान गर्न बाँकी रहेको क्लबले जनाएको थियो । 

कोभिड महामारीका कारण २२ औँ संस्करणबाट अघि बढ्न नसकेको बुढासुब्बा गोल्डकपका लागि एन्फामाझ समय माग गरेको क्लबका महासचिव तामाङले जानकारी दिए ।

उनका अनुसार फागुनको अन्त र चैत्रको सुरुवातमा गोल्डकप आयोजनाका लागि समय उपलब्ध हुनसक्ने सम्भावना रहेको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन ।  २२ औँ संस्करणमा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बुढासुब्बा गोल्डकप मनाङले हात पारेको थियो  ।