काठमाडौंः सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १० औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ ।

दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

आयोजक अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) ले आयोजना गरेको किन्डर ओलम्पिकको दोस्रो चरणमा १७ स्कुलका विद्यार्थी प्रतिस्पर्धी थिए ।

काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालयका विद्यार्थीले उसु, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, रनिङसहित विभिन्न विधा प्रतिस्पर्धा गरेको संयोजक केदारमान स्थापितले जानकारी गराए । त्यसमा नर्सरी, यूकेजी एलकेजीका साढे २ देखि ५ वर्षसम्म साना खेलाडीले खेलकुदसँगै अन्य प्रतिभा प्रस्फुष्टन कार्यक्रममा सहभागिता जनाएको आयोजक एकताकी सदस्य लिना श्रेष्ठले बताइन् ।  

KINDER OLYMPICS 2079 Press Release-2-11

उनले खेलकुदप्रति सानैदेखि रुचि बढाउने, बच्चाको शारीरिक र मानसिक विकासका साथै सहभागिता नै ठूलो हो भन्ने सन्देश दिन सफल भएको बताइन् । सहभागी सबै बालबालिकालाई स्वर्ण पदक र सहभागी स्कुललाई ट्रफी प्रदान गरिएको थियो । उनीहरूले दशरथ रंगशालाको ट्र्याकमा पदकसहित आ–आफ्ना अभिभावकसँग खुसी साटेका थिए ।

सन् २०१२ देखि आयोजना हुँदै प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सहभागीलाई पुरस्कृत गर्दै देशकै ठूलो रंगशालामा कार्यक्रम गरेर सानैदेखि बालबालिकालाई खेलकुदतर्फ आकर्षित गराएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले तल्लो तहदेखि बालबालिकालाई खेलकुदमा गर्न सकिए मात्र भविष्यमा राम्रो नतिजा पाउन सकिने बताए ।

kinder 4