काठमाडौंः नयाँ गठबन्धनका तर्फबाट हिजो मात्र प्रधानमन्त्री पदमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति भवनमा उनले आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । त्यसका लागि विशेष समारोहका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएका छन् ।
विगत वर्षमा जस्तै राष्ट्रपति भवनको प्राङ्गणमा शपथ ग्रहणको तयारी गरिएको छ । समारोहलाई भव्य बनाउन भवनको परिसर झकिझकाउ बनाइएको छ ।
समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, शपथग्रहणको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारकर्मी, फोटो पत्रकारका लागि पनि व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीको शपथग्रहणसँगै नवनियुक्त केही मन्त्रीले पनि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरूको नियुक्ति गर्ने र राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने संवैधानिक व्यवस्था छ ।
उनलाई प्रतिनिधि सभाका १६९ सांसदको समर्थन रहेको छ । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन लागेका हुन् ।