काठमाडौँः नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताए । अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उनको  भनाइ छ । नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उनले बताए । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने पनि उनको भनाइ छ ।

दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उनको भनाइ छ । “हामी भागबन्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौँ । निर्वाचनको नतिजा स्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने ।

जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उनले आफ्नो पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय र अन्तर्गतका निकायको कार्य सञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गरे ।

“अर्थ मन्त्रालय अन्तर्गतका सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा गर्नेसम्बन्धी निर्णय भएको छ”, अर्थ सचिव कृष्णहरि पुष्करले भने । पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो । रासस